स्थानीय तह कार्यान्वयनका लागि गठित टोलीले काम सुरु गर्दै


 


काठमाण्डौ, चैत्र ५

संघिय संरचना अनुसार कायम स्थानीय तह कार्यान्वयनका लागि सरकारले चार सदस्यीय टोली गठन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

स्थानीय तह कार्यान्वयनका लागि स्थानीय तहलाई केन्द्रबाट जाने अधिकार, स्रोत तथा जनशक्तिका विषयमा वार्ता टोलीले छलफल गर्ने मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । टोली सदस्यमा सहसचिव तामाङ र उपसचिव गुरुप्रसाद सुवेदी तथा सदस्य सचिवमा विष्णुदत्त गौतम रहेका छन ।

आज मन्त्रालयमा स्थानीय तहसम्बन्धी कामको क्षेत्रगत सर्त तथा बन्देज सम्बन्धी दस्तावेज तयार पर्ने, शिक्षा सेवाको जनशक्तिलाई स्थानीय तहमा पठाउने आधार तयार गर्ने र स्थानीय तहमा भएका शिक्षासम्बन्धी संस्था र जनशक्तिसँगै स्रोत साधनको तथ्यांक संकलनको कार्य सुरु गर्ने जनाएको छ । वार्ता टोलीले विभिन्न सेवाबाट स्थानीय तहमा जाने कर्मचारीको ज्येष्ठता कसरी मिलाउने भन्ने बारेमा पनि छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्