एमाले नेता शेरधन रार्इ भन्छन्– मधेसी माेर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा


 


भक्तपुर, चैत्र ३

नेकपा (एमाले) का युवा नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राइले मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो– “पटक–पटक वार्तामा बोलाउँदा पनि विभिन्न बहानाबाजी बनाएर वार्तामा नआउनु नै संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र हो ।”

नेता राईले मधेसी नेताको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सद्भावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने छ भन्नुभयो ।

निर्वाचनका सवालमा अहिले अनेकौँ खालका गतिविधि भइरहेको बताउँदै उहाँले निर्वाचन तोकिएकै मितिमा गर्न सम्भव रहेको र गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता राईले वर्तमान सरकाले राप्रपाजस्ता स–साना पार्टीलाई सरकारमा सामेल गराउनु सत्ता केही दिन र महिना लम्ब्याउनु मात्र भएको टिप्पणी गर्दै सरकार साच्चै संविधान कार्यान्वयनमा इमान्दार भए प्रतिपक्षी दलसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको त्यस्तै पारित हुन नसक्ने बताउँदै उहाँले एमालेले संविधान संशोधन पारित गर्न नदिने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्