विश्वकप चेसको छनोट प्रतियोगिता शुक्रबारदेखि नेपालमा हुने


 


काठमाडौ, चैत्र ३
विश्व चेस महासङ्घ फिडेको आयोजनामा हुने विश्वकप चेसको छनोट प्रतियोगिता ‘एसियन जोनल ३.२ चेस च्याम्पियनसिप’ शुक्रबारदेखि नेपालमा हुने भएको छ ।

नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा एसियन जोन ३.२ का अध्यक्ष राजेशहरि जोशीले जानकारी दिए ।

यसअघि नेपालले विसं २०७१ मा पहिलो पटक सो प्रतियोगिता आयोजना गरेको थियो । फिडेको विश्व चेस च्याम्पियनसिप २०१६–२०१८ अन्तर्गत आगामी वर्ष भदौ २७–असोज १२ सम्म जर्जियाको टिबीलिसीमा हुने विश्वकपका लागि एसियन छनोट भने नेपालमा हुन लागेको हो ।

उक्त च्याम्पियनसिपमा नेपालसँगै बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान र माल्दिभ्सका महिलातर्फ १६ र खुलातर्फ ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  च्याम्पियनसिपको पुरस्कार राशि भने रु छ लाख ५० हजार छ ।

यस्तै च्याम्पियनसिपको महिला र पुरुषतर्फका विजेताले ‘इन्टरनेसनल मास्टर आइएम’को उपाधि प्राप्त गर्नेछन् । यसैगरी नौ खेलबाट ६५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने खेलाडीले ‘फिडे मास्टर एफएम’ तथा ५० प्रतिशत अङ्क ल्याउनेले ‘मास्टर सिएम’ को उपाधि पाउनेछन्। प्रतियोगिता स्थानीय कान्तिपथस्थित होटल एलो प्यागोडामा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्