ट्रम्पको कर विवरण सार्वजनिक


 


काठमाण्डौ, चैत २

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा मात्रै तीन करोड ८० लाख डलर कर बुझाएको खुलासा भएको हो ।

राष्ट्रपति ट्रम्पमाथि कर विवरण सार्वजनिक गर्न दबाब पर्दै आएको भएपनि उहाँले आफूले बुझाएको करको विवरण सार्वजनिक गर्नु भएको थिएन । तर एमएसएनबिसीले ट्रम्पले सन् २००५ मा बुझाएको करको विवरण सार्वजनिक गरेको हो । यसले राष्ट्रपति कार्यालय ह्वाइट हाउस रुष्ट बनेको छ ।

कर सम्बन्धी विवरण प्रकाशित गर्नु गैर कानुनी भएको भन्दै ह्वाइट हाउसले आलोचना गरेको हो । एमएसएनबिसीले दुई पेज लामो कर सम्बन्धी विवरण प्रकाशित गरेको हो । यो पूर्ण भने होइन । राष्ट्रपति कार्यालयले घटनाको विरोध गर्दै सार्वजनिक भएको कर थप कर मात्रै रहेको र ट्रम्पले त्यसबाहेक पनि अरु विभिन्न शिर्षकमा कर बुझाएको दाबी गरेको छ ।
ट्रम्पको कर सम्बन्धी विवरण थोरै नै भएपनि सार्वजनिक हुनु निकै महत्वपूर्ण रहेको र यसले ट्रम्पमाथि आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गर्न दबाब पर्ने विश्लेषण गरिएको छ । पत्रकार डेविड केय जोनस्टनले अपरिचित स्रोतबाट आफूले ट्रम्पको कर सम्बन्धी यो जानकारी पाएको एमएसएनबिसीका पत्रकार रेचल म्याडवसँगको अन्तर्वाताको क्रममा भनेका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्