युभेन्टस क्वाटरफाइनलमा पुग्यो


 


काठमाडौं, चैत २

इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टरसले पोर्चुगिज लिग लिडर एफसी पोर्टोलाई १–० ले हराउँदै समग्रमा ३–० को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको छ ।

पहिलो लेगमा युभेन्टस २–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको खेलमा युभेन्सलाई जिताउन पाउलो डाइबालाले ४२ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । पोर्चुगिज लिग लिडर पोर्टो पहिलो हाफको अन्तिम केही समय र दोस्रो हाफ भर १० खेलाडीमा सीमित भएको थियो ।

४० औं मिनेटमा म्याक्सी परेरा ह्याण्ड बलका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा सीमित भएको हो । युभेन्टस पछिल्लो चार वर्षमा दोस्रो पटक अन्तिम ८ मा पुगेको हो । गोन्जालो हेगुइनले युभेन्टसका लागि दोस्रो गोल गर्ने मौका बनाएका थिए ।

तर उनले प्रहार गरेको बल पोस्ट भन्दा पर गयो । च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र शुक्रबार हुनेछ । अहिलेसम्म युभेन्टससहित लेस्टर सिटी, बार्सिलोना, रियल मड्रिड, बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डले अन्तिम ८ मा स्थान बनाइ सकेका छन् ।

बुधबार राति हुने एथ्लेटिको मड्रिड र बार्यन लेभरकुशन तथा म्यानचेस्टर सिटी र मोनाकोबिचको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टिमको टुंगो लाग्ने छ ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्