प्रधानमन्त्रीको आग्रह ओलीद्धारा अस्वीकार


 


काठमाण्डौ, चैत १

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनकाबारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गरे ।

अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई अनुरोध गरे । प्रधानमन्त्रीको आग्रह सकारात्मक भएपनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राखेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने समझदारी पनि दुई नेताबीच भएको स्पस्ट गरे ।

एमालेद्वारा आयोजित मेची–महाकाली राष्ट्रिय अभियानकाक्रममा कपिलवस्तुको आमसभा छाडेर ‘महत्वपूर्ण भेटघाटका लागि’ एमाले अध्यक्ष ओली सोमबारमात्रै काठमाडौं आएका थिए । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब डेढ घन्टा कुराकानी भएको र मुलुकलाई समाधान दिन प्रयासरत् रहने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्