स्थानीय तहका लागि ३९० कर्मचारी माग


 


काठमाडौँ, फागुन ३०

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ ।

सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराउनुभयो ।

उहाँले अहिले भएका कर्मचारीले कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न नपुग भएकाले सामान्यसँग माग गरिएको बताउनुभयो ।

अहिले स्थानीय तहका लागि मन्त्रालयसँग एक सहसचिव, ६३ उपसचिव र २९० शाखा अधिकृत रहेका छन् । स्थानीय मन्त्रालयका उपसचिव भरतकुमार शर्माका अनुसार माग गरिएका कर्मचारीमा सहसचिव तीन, उपसचिव १९६ र शाखा अधिकृत १९१ रहेका छन् ।

स्थानीय तहका लागि महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत रहने व्यवस्था छ ।

उहाँका अनुसार नयाँ माग गरिएका कर्मचारीले आगामी बिहीबारदेखि स्थानीय तहमा नयाँ कार्यकारी प्रमुख नियुक्त हुनेछन् ।

उपसचिव शर्माले कार्यालय प्रमुख नभएका कार्यालयमा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारीले अहिले भएकामध्ये वरिष्ठ कर्मचारीलाई कार्यालय सञ्चालन गर्नका लागि निमित्त तोकिएको जानकारी गराउनुभयो ।

सामान्य मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले तत्काल कार्यालय सञ्चालन गर्न र निर्वाचनका लागि ७५ उपसचिव र २९० शाखा अधिकृत स्थानीय मन्त्रालयलाई दिइसकेको जानकारी गराउनुभयो । उहाँले बाँकी रहेका तीन सहसचिव र १२१ उपसचिवका पनि एक÷दुई दिनमा पठाउने बताउनुभयो ।

नयाँ संरचनाअनुसार चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका रहेका छन् । रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्