तराईको अवस्था बुझ्दै नेपाली सेना, प्रधानसेनापति मधेसमा


 


काठमाडाैं, फागुन ३०

तराई-मधेसमा राजनीति र सुरक्षा अस्थिर भइरहेका बेला त्यहाँको पछिल्लो अवस्था बुझ्न प्रधानसेनापति राजेन्द्र क्षेत्री सप्तरी, सर्लाही र धनुषाको दुईदिने भ्रमणमा गएका छन् ।

प्रधानसेनापति क्षेत्रीले भ्रमणमा त्यहाँको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका छन्। उनी धनुषास्थित गोरखनाथ गणको वार्षिकोत्सवमा सहभागी भए पनि उनले सर्लाही र सप्तरीसमेत पुगेर त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको स्रोतले बताएको छ ।

उनले सर्लाहीस्थित रणशेर गण र सप्तरीको वन तथा पर्यावरण गणको निरीक्षण गरेका थिए। त्यस क्रममा उनले एमालेको मेची-महाकाली अभियानका क्रममा सप्तरीमा भड्किएको हिंसा र त्यसबाट उत्पन्न असहज परिस्थितिका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए ।

गणको नियमित निरीक्षण भ्रमण भनिए पनि प्रधानसेनापति क्षेत्री पछिल्लो समय तराई-मधेसको तरल राजनीतिक अवस्था र सुरक्षास्थितिबारे जानकारी लिन गएको स्रोतले बताएको छ ।

उनले शिवरात्री एवं सेना दिवसका अवसरमा फागुन १२ गते दिएको सन्देशमा विभिन्न स्वार्थसमूहले तराई-मधेसमा गरिरहेका अवाञ्छनीय गतिविधि सेनाले गम्भीरतापूर्वक नियालिरहेको र आदेश पाए त्यस्ता गतिविधि निस्तेज पार्ने तयारी अवस्थामा रहेको उल्लेख थियो ।

प्रधानसेनापति क्षेत्रीले आइतबार सर्लाहीस्थित रणशेर गण, सप्तरीस्थित पर्यावरण गण र धनुषास्थित गोरखनाथ गणको निरीक्षण गरे । तराई-मधेसको पछिल्लो सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचनका सुरक्षा चुनौती बुझ्न उनी भ्रमणमा गएको जंगीअड्डा स्रोतले बतायो ।

‘पछिल्लो राजनीतिक अवस्था र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे जंगी अड्डा गम्भीर बनेको छ । जंगी अड्डा सबै विषयमा जानकार छ’, उच्च सैनिक स्रोतले भन्यो, ‘त्यसकै सिलसिलामा चिफसापले तराई-मधेसको सुरक्षा स्थितिसम्बन्धमा चासो राख्नुभएको हो ।’

प्रधानसेनापति क्षेत्रीले गणपतिहरूसँग मधेसमा संविधान संशोधनको माग गर्दै भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकर्ताको गतिविधिलगायत विषयमा जानकारी लिएको स्रोतले बतायो । गणपतिहरूले उनलाई सप्तरी र धनुषाको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे बिफ्रिङ गरेका थिए ।

उनले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सुरक्षा चुनौतीबारे समेत चासो राखेका थिए । फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा सेनाले राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

तराईमा अवाञ्छित गतिविधि गर्दै आएका सीके राउत र केही विखण्डनकारी समूहले स्वतन्त्र मधेसका पक्षमा खुला सभासम्मेलन गर्न थालेपछि सेना गम्भीर बनेको अन्नपूर्ण पाेष्टले खबर प्रकाशित गरेकाे छ । राजनीतिक दलहरू समयमै संयमित नबने तराई-मधेसमा विखण्डनकारी गतिविधि बढ्न सक्ने निष्कर्षमा सेना पुगेलगत्तै प्रधानसेनापति क्षेत्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

निरीक्षणमा उनले विभिन्न गण तथा सुरक्षा पोस्टको वस्तुस्थिति, विवरण, तालिम, बन्दोबस्तीलगायत विषयमा जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले मुलुक विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुतामा खलल पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न सदैव तम्तयार रहेको बताउँदै आएको छ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्