उपत्यकामा हाेलीका दिन ९३३ जना ट्राफिक प्रहरीको कारबाहीमा


 


काठमाडौँ, फागुन २९

होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ ।

अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ ।

अभियानका क्रममा ९३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको, ६७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका कागतपत्र खिचिएको बताएको छ ।

कारबाहीमा परेका अधिकांश दुईपाङ्ग्रे सवारी साधनका चालक रहेका, केहीले सवारी चालक अनुमतिपत्र साथमा नराखेका तथा आवश्यक सुरक्षा उपाय नअपनाई सवारी हाँकेको पाइएको महाशाखाले जनाएको छ ।

साँझ अबेरसम्म अझ सशक्त रुपमा सुरक्षा जाँच गरिने बताउँदै महाशाखाले सबैलाई दुर्घटनारहित ढङ्गले होली मनाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्