६० हजार बढी चालक स्मार्ट लाइसेन्सकाे प्रतिक्षामा, ५४ हजार मात्र अाइपुग्याे


 


काठमाडाैं, फागुन २९

यातायात ब्यवस्था विभागमा ५४ हजार नयाँ स्मार्ट लाइसेन्स अइपुगेको छ । झण्डै ६० हजार चालक ट्रायल पास गरेर प्रतिक्षामा रहेका बेला ५४ हजार स्मार्ट लाइसेन्स आइपुगेको हो ।

विभागले अहिले काठमाडौंमा वितरण गरिरहेको स्मार्ट लाइसेन्स सकिएको छ । स्मार्ट लाइसेन्स सकिँदा पनि विभागले छपाइका लागि टेण्डर गरेको थिएन । सकिएर अभाव नै भएपछि भारतको मद्रास प्रिन्टर्सले विना टेण्डर नै ५४ हजार लाइसेन्स छाप्न अनुमति पाएको थियो ।

प्रिन्टर्सले पठाएको स्मार्ट लाइसेन्स विभाग आएर वितरण थालिएको प्रवक्ता डा. टोकराज पाण्डेले बताए । उनले यो लाइसेन्सको अबको २ महिनाको माग धान्ने दावी गर्दै उनले स्मार्ट लाइसेन्स वितरणमा अहिले कुनै समस्या नरहेको बताए ।

‘हामी तत्काल स्मार्ट लाइसेन्सका लागि टेण्डर गर्दैछौं’ पाण्डेले भने,‘लाइसेन्सको वितरण्मा कुनै समस्या आउन नदिने द्रुतगतिमा टेण्डर गर्ने तयारी छ ।’

सुरुवातमा ३ महिनाभित्रै काठमाडौं बाहिरबाटै स्मार्ट लाइसेन्सको वितरण थाल्ने विभागको दाबी थियो । तर, १४ महिना बित्दा पनि उपत्यकाबाहिर स्मार्ट लाइसेन्स बाँड्नु त परै जाओस्, काठमाडौंमै वितरण रोकिएको छ ।

प्रिन्ट नभएका स्मार्ट लाइसेन्स सकिन थालेपछि यातायात व्यवस्था विभागले समय-समयमा विभिन्न बहाना बनाउँदै काठमाडौंमा लाइसेन्सको वितरण रोकिरहेको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्