होलीले नेपालीबीच भाइचारा र घनिष्ठता अभिवृद्धि गर्न सहयोग पुगोस् – प्रधानमन्त्री


 


काठमाडौ, फागुन २९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताएका छन । फागुपूर्णिमाको अवसरमा शुभकामना दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउने समेत सन्देशमा उल्लेख गरे ।

दाहालले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने यस फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताए ।

फागुपुर्णिमा होली पर्व ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गरे ।

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्