नरेन्द्र मोदीको पार्टी भाजपालाई भारतका पाँच राज्यमा सफलता


 


एजेन्सी, फागुन २९

भारतका पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, मणिपुर र गोवामा भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सफलता हासिल गरेको हो ।

उत्तर प्रदेशको ४ सय ३ विधानसभा सदस्यमध्ये बीजेपीले ३ सय २५ सिट जितेको छ । अखिलेश यादवले नेतृत्व गरेको समाजवादी पार्टी र कांग्रेस गठबन्धनले जम्मा ५४ सिट मात्र जितेको छ । त्यसैगरी पूर्व मुख्यमन्त्री मायावतीको बहुजन समाजवादी पार्टीले १९ सिट जितेको छ भने अन्य साना दलले ५ सिट जितेका छन् ।

उत्तराखण्डमा पनि बिजेपीले दुई तिहाई भन्दा बढी सिट ल्याएको छ । जसका कारण कांग्रेस नेतृत्वको सरकारले बहुमत गुमाएको छ । ७० सदस्यीय विधानसभामा रहेको उत्तराखण्डमा बीजेपीले ५७, कांग्रेसले ११ र अन्य साना दलले २ सिट जितेका छन् । पञ्जावको १ सय १७ सिटमध्ये कांग्रेसले ७७ सिट जितेको छ भने आम आदमीसहितका अन्य पार्टीले २२ सिट जितेका छन् ।

यहाँ भने बीजेपीको अवस्था कमजोर देखिएको छ । उसको गठबन्धनले जम्मा १८ सिट मात्र ल्याएको छ । मणिपुरमा २८ सिट ल्याएर कांग्रेस अग्रस्थानमा आएको छ भने २१ सिट जितेको बीजेपी दोस्रो स्थानमा छ । अन्य दलले ११ सिट ल्याएका छन् । गोवामा कांग्रेसले १७ सिट जितेको छ भने बीजेपीले १३ सिट ल्याएको छ । त्यहाँ अन्य दलले १० सिट जितेका छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्