देशका लागि ज्यान दिन तयार छु-ओली


 


काठमाडौं, फागुन २८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियताको लागि आफ्नो ज्यान दिन तयार रहेको बताएका छन्। नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत शुक्रबार हेटौंडामा भएको आमसभामा पूर्व प्रधानमन्त्री ओलीले देशको रक्षाको लागि एमाले एक्लै लड्न सक्षम भएको बताए।

हेटौँडाको भुटनदेबी मैदानमा उपस्थित झन्डै १० हजारलाई सम्बोधन गर्दै उनले १-२ जना नेतालाई मार्दैमा एमालेका लाखौं कार्यकर्ताहरु विचलिन नहुने बताए। राजविराजमा एमालेको नेतृत्वलाई सामुहिक हत्या गर्ने प्रयास भएको दाबी उनले दोहोर्‍याए।

ओलीले सरकार र मधेसी मोर्चाले एमालेमाथि हमला गरेको आरोप लगाए। यदि सरकारले हामी माथि भएको आक्रमणलाई सहयोग नगरेको भए हामीलाई टाउको फुटाएर पनि जोगाएका प्रहरी तथा स्थानीय प्रशासन प्रमुखलाई किन काठमाण्डौ बोलाएको ?’ उनले भने। मधेसी मोर्चा र सत्तारुढ दल आफुहरुको लोकप्रियताबाट आत्तिएको उनको दाबी छ।

उनले मेचि महाकाली अभियान स्थगित गराउने प्रयत्नमा लागेको मधेसी र सत्तारुढ दल लागेको आरोप लगाए। तर कुनैपनि हालतमा अभियान नरोकिने उनले बताए। मधेसी मोर्चा लासको राजनीतिको लागि अग्रसर हुँदा राजविराज घटना भएको उनले बताए।

सरकारले भारतीयको गोली लागेर मृत्यु भएका नेपालीको पक्षमा बोल्न नसक्नु लज्जाजनक कुरा भएको उनले बताए। कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले जस्ले जतिसुकै अवरोध गरेपपनि एमालेको अभियान नरोकिने दाबी गरे।

एमाले प्रदेश नंबर ३ की अध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल सहित एमाले केन्द्रीय कमिटिका अधिकांश नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्