गौतम हत्यामा भारतीय पक्षसँग क्षतिपूर्ति माग्नुपर्छ : एमाले


 


काठमाडौँ, फागुन २७

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीको सप्तरीमा भएको शान्तिपूर्ण कार्यक्रममा गरिएकोे सुरक्षा हस्तक्षेप र कञ्चनपुरमा भारतीय सुरक्षा बलबाट भएको गोली प्रहारका घटनाका सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरेको छ ।

बैठकमा उपाध्यक्ष रावलले सरकारले नेपाली सीमामा सुरक्षा दिन नसकेको र विदेशी सुरक्षाकर्मीले आफ्ना नागरिकमाथि आक्रमण गर्दा सामान्य वक्तव्य दिएर लाचार प्रदर्शन गरेको आरोप लगाउँदै त्यस घटनामा भारतले क्षतिपूर्ति दिनुपर्छ भनेर सरकार बोल्न सक्नुपर्ने बताउनुभयो ।

यही फागुन २६ गते कञ्चनपुरको आनन्दबजारस्थित सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।

उहाँले सो घटना भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै शान्तिपूर्ण मेची महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते सप्तरीको राजविरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध हुनु र प्रहरीबाट बल प्रयोग गरिएकामा विरोध गर्नुभयो ।

उहाँले आजबाट हेटौँडामा सुरु हुने पार्टीको अभियानमा कुनै वितण्डा नमच्चाउन र सुरक्षा दिन सरकारसँग माग गर्नुभयो । रासस

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्