बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो


 


जाजरकोट, फागुन २७

जाजरकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । घाइते ३० भन्दा बढीको उपचार भइरहेको छ । सदरमुकाम खलंगाबाट खारातर्फ गईरहेको लु ३ ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो । १५ जनाको घटनास्थलमा र ११ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । बस सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ६० जनासम्म यात्रु चढेकाले ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । बस घुमाउरो सडकबाट पासागाडा खोला किनारमा खसेको हो । पुरानो बसमा क्षमताभन्दा बढी यात्रु र तीब्र गति हुँदा दुर्घटना भएको बताइएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । अधिकांश यात्रु बीच बाटोबाट चढेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि पाँच किलोमिटरको दूरीमा रहेको छ । मृतक मध्ये लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, नविन चन्द, गणेश बोहरा र सन्त सुनारको सनाखत भएको छ ।

यस्तै दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरीपालिका नगरपालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका नगरपालिका–११ गोप्ला सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका नगरपालिका–८ का चैते खत्री र गर्खाकोट २ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

बाँकी मृतकको भने सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्