प्रधानसेनापति भन्छन्– देशै टुक्रयाउने स्थिति आए सेना परिचालन हुन्छ


 


काठमाडाैं, फागुन २७

देश नै टुक्रयाउने गतिविधि भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वत: परिचालन हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन् ।

क्षत्रीले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्‍याउने प्रवृत्तिका सुरक्षा चुनौतिको भएमा नेपाल सरकारको निर्देशानुसार नेपाली सेना परिचालन हुने बताएका हुन् ।

उनले फागुन २३ मा जंगी अड्डामा पी.एस.ओस (रथीवृन्दहरु) तथा पृतनापतिहरु सम्मिलित ‘पृनतापति समन्वयात्मक बैठकमा–२०७२’ मा सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले ‘सुरक्षा कारबाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण सृजना गरि दिने माध्यममात्र भएकोले सुरक्षा चुनौतिको दिगो समाधान राजनीतिक रुपमा गरिनु पर्छ’ भने ।

उनले अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको बताए ।

उक्त समन्वयात्मक बैठकले नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी स्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनै पनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्