स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल


 


चितवन, फागुन २६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताउनुभएको छ ।

जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताउनुभयो ।

उहाँले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउनुहुँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ ।” समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिने उहाँले बताउनुभयो ।

हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउनुहुँदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताउनुभयो ।

 

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्