तराई बन्दका कारण जनजीवन प्रभावित, विहानैदेखि प्रदर्शन


 


सुनसरी, फागुन २५

मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

बन्दको प्रभाव पश्चिमी जिल्ला कपिलवस्तु, रुपन्देही र बर्दियामा पनि परेको छ । मोर्चाको बन्दका कारण यी जिल्लाको बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् भने यातायातका साधन संचालनमा आउन सकेका छैनन् ।

ती जिल्लामा बिहानैदेखि मोर्चाका कार्यकर्ता चोक चोकमा बसेर लाठीसहित प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, सुनसरी प्रहरीले मंगलबार राति पूर्वबाट पश्चिम जाने ४ सय १० वटा गाडी र पश्चिमबाट पूर्वका लागि छुटेका ४ सय ८७ वटा गाडीलाई स्कटिर्ङ गरी सुरक्षित स्थानमा पुर्‍याएको सुनसरीका एसपी पोषराज पोख्रेलले जानकारी दिए ।

मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको बिरोधमा बन्द आह्वान गरेका हुन् । उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीलगायत ६ बुंदे माग गरेका छन् ।

मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्