मेरो आदेश नमान्नेलाई कारबाही गर्छु- प्रधानमन्त्री


 


काठमाडौं, फागुन २४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए ।

सप्तरीमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै प्रदेश नम्बर २ का कांग्रेस सांसदहरु मंगलबार बालुवाटार पुगेका थिए । भेटमा उनीहरुलेसप्तरी घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

उनीहरुले एमालेको उत्तेजक अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका जनतामाथि प्रहरीले गोली चलाएकोमा आफूहरु स्तब्ध भएको प्रतिक्रिया पनि दिएका छन् । कांग्रेस सांसदहरुले एमालेको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित हुन पुगेको बताए ।

जवाफमा प्रधानमन्त्रीले आफूले सोमबार विहान प्रहरी प्रमुखलाई बोलाएर कुनै हालतमा गोली नचलाउन आदेश दिएको बताए । त्यसविपरित घटना भएको भन्दै उनले भने, ‘मेरो आदेश नमान्ने को हो ? म निलम्बन गरेर कारबाही गर्छु ।’ उनले मंगलबारकै मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्