आर्सनललाई धक्का


 



काठमाण्डौ, फागुन २४

जर्मनी मिडफिल्डर मासुट ओजिल आफ्नो देशको शीर्ष क्लब टोली वायर्न म्युनिखविरूद्ध च्याम्पियन्स लिगको खेल अगाडि आर्सनल टिमबाट बाहिरिएका छन्। अस्वस्थताका कारण उनी आज राती ९नेपाली समयअनुसार बुधबार बिहान साढे १ बजे० हुने च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको दोस्रो लेगको खेलमा आर्सनल टिममा उपस्थित हुने छैनन्।

जर्मनी क्लबविरूद्ध पहिलो लेगको खेलमा ५–१ को पराजय भोगिसकेको अवस्थामा आर्सनलका लागि आजको खेल निकै चुनौतीपूर्ण मानिएको छ। त्यसमा पनि प्रभावशाली मिडफिल्डर ओजिल बाहिरिएपछि आर्सनलको संकट बढेको छ।

आजको खेलमा आर्सनलले वायर्नको आतिथ्य गर्दैछ। ओजिल आउँदो शनिवार एफए कपअन्तर्गत लिङ्कन सिटीविरूद्धको क्वाटरफाइनलका लागि उपलब्ध हुन सक्ने प्रशिक्षक आर्सने वेङ्गरले बताएका छन्। वायर्नविरूद्धको खेलमा आफ्नो स्टार स्ट्राइकर एलेक्सिस सान्चेजलाई आर्सनलले सुरुमै उतार्दैछ। गत शनिवार लिभरपुलसँग ३–१ ले पराजित खेलमा सान्चेज दोस्रो हाफपछि मात्र मैदानमा उत्रिएका थिए।

ट्रेनिङमा आफ्नै साथीहरूसँग झगडा गरेका कारण उनलाई सजायस्वरूप बेन्चमा थन्काइएको बेलायती अखबारले बताएपनि वेङ्गरले यसको खण्डन गर्दै आइरहेका छन्।  सान्चेजले यो सिजन २० गोल गरिसकेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्