संघीयता र गणतन्त्रमा माओवादीकै रगत पसिना छ-प्रधानमन्त्री


 


काठमाण्डौ, फागुन २३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना रहेको बताएका छन्। माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा उनले आफ्नो रगत पसिना रहेको संघीयता,गणतन्त्र र धर्म निरपेक्षतालाई जोगाउनु माओवादीकै दायित्व भएको उनले बताए।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ। यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो। हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन। त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ।’

सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको भन्दै प्रचण्डले भने, ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ। स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ। संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको छ, जनताको अधिकार गाउँगाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्छ।’

नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको प्रचण्डले बताए। उनले भने, ‘नयाँ संविधानमा दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ।

समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको छ, आवासको हक सुनिश्चित गरिएको छ। एकतावद्ध भएर संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ।’

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्