एमालेको मेची महाकाली अभियान अन्योलमा


 


काठमाडौ, फागुन २३

तराई मधेशमा फैलिएको भ्रम चिर्न भन्दै नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्योलमा परेको छ । अभियान अन्तरगत आज सप्तरीमा कार्यक्रम गर्ने तय भएपनि मधेशी मोर्चा अवरोधमा उत्रिने भएपछि एमालेको कार्यक्रम अन्योलमा परेको हो ।

सदरमुकाम राजविराजमा गर्ने भनिएको कार्यक्रम मोर्चाको सम्भावित अवरोधलाई मध्यनजर गर्दै ३ किलोमिटर उत्तरपूर्वस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र तय गरिएपनि सो स्थानमा पनि स्थानीयवासीले कार्यक्रम अवरोध गर्ने बताएका छन् ।

दिउँसो एक बजेका लागि तय गरिएको एमालेको सभाको विरोधमा मोर्चा आवद्ध दलका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि एमालेको अभियान प्रभावित हुने देखिएको हो । एमालेको कार्यक्रमलाई लक्षित गरी स्थानीय प्रशासनले उल्लेख्य संख्यमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

मोर्चा आवद्ध दलका कार्यकर्ताले आज राजविराज, भारदह लगायत क्षेत्रमा यातायात बन्दको आह्वान गरेका छन् । मोर्चाका स्थानीय नेताले लाठी जुलुससहित गाउँ गाउँबाट मोर्चाबन्दी गर्दै विरोध गर्ने योजना सार्वजनिक गरेको जनाइएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्