स्थानीय तहको सङ्ख्या ७४४


 


काठमाडौं, फागुन २३

सरकारले स्थानीय तहको सङ्ख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी यो सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताए । आयोगले स्थानीय तहको सङ्ख्या सात सय १९ कायम गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी पनि दिए । सबै पक्षलाई निर्वाचनमा सहभागी गराउन तथा राजनीतिक समझदारीका आधारमा स्थानीय तहको सङ्ख्या र संरचनाबारे सरकारले अझै आवश्यक निर्णय लिने निर्णय गरेको मन्त्री पाण्डेले बताए ।

प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने तथा मनाङमा संविधानको भावनाअनुसार तीनको सट्टा चारवटा इकाइ बनाउने र बझाङको काँडा गाविसमा एउटा इकाइ थप गर्ने निर्णय मन्त्रिपरिषदले गरेको बताए ।

काठमाडौंका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिने पनि निर्णय भएको छ । त्यसैगरी, बैठकले चुनावको तयारी गम्भीर ढङ्गले अगाडि बढिरहेका बेला कर्मचारीलाई बन्द, हडतालमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्