एमालेको मेची महाकाली अभियान : आज कहाँ-कहाँ हुँदैछ सभा ?


 


काठमाडौं, फागुन २२

नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा हुँदैछन् । झापाको दमकदेखि बिहान १० बजेपछि अघि बढ्ने अभियान अन्तर्गत मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
विराटचोकका सभालाई नेताहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्नेछन भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्ने भट्टराईले बताए । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित अभियान शनिबार झापाको काँकडभिट्टाबाट सुरु भएको हो ।
चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तगर्तत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, र्‍याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
१० हजार स्वयंसेवक परिचालन हुने अभियानमा सबैजसो केन्द्रीय नेता सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्