प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान


 


काठमाडौं, फागुन २१

संसदीय सुनुवाई विशेष समितिले विभिन्न १२ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना निकाली प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भए स्पष्ट आधार र सबुत प्रमाणसहित यही फागुन ३० गतेसम्म उजुरी दिन सक्ने जनाएको हो ।

समितिकाअनुसार उजुरीकर्ताले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वा सोझै समितिमा उजुरी दर्ता गर्न सक्नेछन् । प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्ने तर, चाहेमा उजुरीकर्ताको नाम गोप्य राखिने समितिले जनाएको छ ।

सुनुवाई सम्बन्धी जानकारी जिल्ला प्रशासन कार्यालय र सम्भव भएसम्म अरु सरकारी कार्यालय वा सार्वजनिक स्थानमा टाँस्ने व्यवस्था गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि समितिले आग्रह गरेको छ ।

सरकारले प्रस्तावित राजदूतको नाम पठाएपछि समितिले सुनुवाई प्रक्रिया सुरु गरेको हो। सरकारले अस्ट्रेलियाका लागि लक्की शेर्पा, इजयरायलका लागि निरञ्जन थापा, ओमानका लागि शर्मिला पराजुली, डेनमार्कका लागि युवनाथ लम्साल, साउदी अरेबियाका लागि महेन्द्रसिंह राजपूत, बहराइनका लागि पदम सुन्दास, श्रीलंकाका लागि विश्वम्भर प्याकुरेल, बंगलादेशका लागि डा. चोपालाल भूसाल, म्यानमारका लागि भीम उदास, दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइराला र जापानका लागि प्रतिभा राणाको नाम संसदीय सुनुवाई समितिमा पठाएको छ।

स्पेनका लागि भरत रायमाझीको नाम सिफारिस भए पनि दूतावास स्थापना नभएकाले संसदीय सुनुवाईमा पठाइएको छैन । सरकारले सिफारिस गरेकामध्ये युएईका लागि विवादित राजदूत आशा लामाको नाम भने काटिएको छ । म्यानपावर सञ्चालक लामा र ओमानका लागि प्रस्तावित पराजुलीको नाममा विवाद भएपछि मन्त्रिपरिषदले सिफारिस गरेको दुई हप्तासम्म पनि संसदीय सुनवाईका लागि पठाइएको थिएन ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्