होलीको दिन काठमाडौंका ९० बढी स्थानमा चेकिङ


 


काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

काठमाडौं उपत्यकामा होली मनाउनेहरु भेला भएका छन् । उनीहरु एकअर्कामा रंग, अबिर र पानी छ्याप्दै रमाइलो गरिरहेका छन् । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा आउ–जाउ गरिरहेका सवारी चालकहरुलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ पनि गरिरहेको छ ।

होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन ट्राफिक प्रहरीहरु खटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ । साथै घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्