एमालेको राष्ट्रिय अभियान आजदेखि


 


काठमाण्डौ, फागुन २१

सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नेकपा एमालेले राष्ट्रिय एकताको सन्देशसहित आजदेखि ‘मेची–महाकाली राष्ट्रिय अभियान’ सुरु गर्दैछ । मुलुकको पूर्वीद्धार काँकडभिट्टावाट विहान ११ वजे अभियान सुरु हुने छ ।

अभियानमा सहभागी वन्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरले, पूर्व सभामुख सुवास नेम्वाङ, पूर्व गृहमन्त्री वामदेव गौतम, भीम रावल, योगेश भट्टराईलगायतका नेता शुक्रवार झापा गएका छन् ।

अभियानको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका वीचमा जाति – जनजाति, मधेश –पहाड भन्दै अनेक प्रकारका भ्रम फिजाएर जनतामा घृणाभाव, वैरभाव फैलाउने दुस्प्रयत्न भएको भन्दै नेपालीवीच सद्भाव जगाउन अभियान थालीन गरिएको बताए । ‘राष्ट्रिका लागि सद्भाव र सहयोगी भावना हुनुपर्छ’, ओलीले भने,‘ सवै मिलेर देश वनाउनु पर्छ । सवैले हक अधिकार पाउनुपर्छ ।’

१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । ‘यसले पार्टीको मधेश दृष्टिकोण प्रष्ट हुने छ’, एमालेका वैकल्पिक केन्द्रिय सदस्य रविन कोइरालाले भने,‘नयाँ संविधान जारी पछि एमालेले मधेसप्रति नकारात्मक दृष्टिकोण राखेको आरोपलाई चिर्न अभियान सफल हुने छ ।’

काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ । अभियानभर एक हजार भन्दा वढी पार्टी नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्