राप्रपाको चुनाव चिन्ह ‘गाई’ नै


 


काठमाडौं, फागुन २०

राष्ट्रिय प्राजातन्त्र पार्टी (राप्रपा) को चुनाव चिह्न गाई नै रहने पक्का भएको छ। चुनाव चिह्न हलो कि गाई भन्ने विषयमा देखिएको विवाद हल गर्दै राप्रपाको केन्द्रीय समिति बैठकले चुनाव चिह्न गाई राख्ने निर्णय गरेको हो। चुनाव चिह्न गाई राख्ने गरी सर्वसम्मत निर्णय भएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

यसअघि लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ लगायतले चुनाव चिह्न हलो हुनुपर्ने माग गर्दै आएका थिए। पार्टी एकताअघि राप्रपाले हलो र राप्रपा नेपालले गाईलाई चुनाव चिह्नको रुपमा प्रयोग गर्दै आएका थिए। एकतापछि पार्टीको नाम राप्रपा रहने पक्का भए पनि चुनाव चिह्न के हुने भन्ने विषयमा विवाद टुंगिएको थिएन।

पार्टी मुख्यालय धुम्बाराहीमा दुई दिनसम्म चलेको बैठकले आगामी चैतमा राष्ट्रय एकता अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। चैत ८ गतेदेखि १२ गतेसम्म चल्ने अभियान काठमाडौं, गोरखा तथा मेची र महाकालीबाट एकसाथ सुरु हुने बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्