जब पुलिस नै चाेर भएपछि…


 


काठमाडाैं, फागुन २०

अवैध काठ ओसारपसार गर्न प्रयोग गरिएको ट्रयाक्टर काठसहित जिल्ला वन कार्यालयमा बुझाउन खटिएका प्रहरीले नै सो ट्रयाकटरको टायर चोरी बिक्री गरेको खुलासा भएको छ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरले सोमबार राती अवैध काठसहित रा १ त ६३० को ट्रयाक्टरलाई तुलसीपुर–१४ राइखलियानबाट नियन्त्रणमा लिएको थियो ।

इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार काठसहितको सो ट्रयाक्टर जिल्ला वन कार्यालय बुझाउन प्रहरीकै चालक सिपाही धनबीर चौधरी र अर्का जवान प्रकाश बिष्टलाई खटाइएको थियो।

घोराहीस्थित जिल्ला वन कार्यालय काठ र ट्रयाक्टर बुझाउन गएका प्रहरी जवान चौधरी र बिष्टले घोराहीकै एक ट्रयाक्टर सोरुममा ट्रयाक्टरका ६ वटै टायर बेची पुराना टायर राखेर जिल्ला वनमा बुझाएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी जवानद्वयले कामचलाउ टायर राखी ट्रेक्टर जिल्ला वन कार्यालयमा बुझाएका थिए । प्रहरीले नै टायर चोरेर बेचेको सूचना इप्रका तुलसीपुरले पाएपछि इप्रकाले प्रज चौधरी र विष्टलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, दाङ पठाएको प्रनाउ तिवारीले बताए ।

दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले भने, ‘अनुसन्धान गर्दा प्रहरी जवानद्वयले टायर बेचेको खुलेपछि उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।’ उनका अनुसार दुवै प्रहरी जवानलाई ६ महिनाका लागि प्रहरी सेवाबाट निलम्बन समेत गरिएको छ । ट्रयाक्टरका ६ वटा टायरको मूल्य करिब एक लाख ५० हजार रुपैयाँ पर्छ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्