३३ किलाे सुन तस्करीमा संलग्न यी हुन् राजधानीका सुनपसल


 


काठमाडाैं, फागुन २०

साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ। तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो। वैभव लक्ष्मीका बाहेक सबै पसलका सञ्चालक फरार छन्।

प्रहरीले बुधबार न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको छ। त्यही पसलका अर्का सञ्चालक प्रमोद श्रेष्ठ भने फरार छन्।

विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि फरार छन्। त्यस्तै, ओटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अमोल विभुते भाइचन्द्र पनि फरार छन्।

प्रहरी प्रधान कार्यालयको सिआइबीले उनीहरूविरुद्ध मुद्दा चलाउन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा राय प्रतिवेदन बुझाएको छ।

उनीहरूमध्ये वैभवका प्रमोद श्रेष्ठ ओसारपसारमै संलग्न व्यक्ति हुन् भने आरके र शालिमार ज्वलेर्सका सञ्चालकहरूले चोरीको सुन बेच्दै आएका थिए। साइरामका विभुतेले तस्करीको सुन गाल्ने काम गर्दथे।

शालिमार ज्वेलर्सका कर्मचारी राजेन्द्र बोगटी तथा आरके ज्वेलर्सका सञ्चालक समिर श्रेष्ठ तस्करीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। तस्करीका प्रमुख एजेन्ट रामहरि कार्की पक्राउ परेलगत्तै उनीहरू मालिकसँगै लुक्न भारत गएका छन्।

प्रहरीले सुन तस्करीमा संलग्नहरूको सम्पत्ति छानबिन सुरु गरेको छ। कुनै समय ट्याम्पो ड्राइभर रहेका पर्वतका गुप्तलाल (रोशन) भुसालले काठमाडौंमै करोडौँको सम्पत्ति जोडिसकेका छन्। सामाखुसीमा उनले एक रोपनी जग्गामा भव्य घर बनाउँदै थिए।

उनले सामाखुसीको मुख्य सडकमा घर किनेका छन्। त्यस्तै, हरि खड्काको लाजिम्पाटमा एउटा घर भेटिएको छ। सिआइबीले मालपोत कार्यालयमार्फत उनीहरूको घरजग्गाको विवरण लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा छानबिन अघि बढाएको छ।

को–को हुन् मुख्य तस्कर ?

साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ। दुवैजना हाल दुबईमा छन्। सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए। खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन्। दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ।

तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए।

हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन्। लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ।

३३ विरुद्ध मुद्दा चल्ने

साढे ३३ किलो सुन तस्करीमा ३३ जना संलग्न रहेको निष्कर्ष सिआइबीको छ। जसमध्ये १२ जना पक्राउ परेका छन् भने २१ जना फरार छन्। सिआइबीले एक एसएसपी, तीन भन्सारका कर्मचारी तथा अन्य आठजना कारोबार र ओसारपसारमा संलग्न हुनेलाई पक्राउ गरिसकेको छ।

सिआइबीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। पक्राउ परेका १२ तथा अन्य फरार २१ विरुद्ध मुद्दा चलाउन सिआइबीले सरकारी वकिललाई राय दिएको हो।

सिआइबीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो। विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री, भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन्।

नयाँ पत्रिका दैनिकका अनुसार तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की सिआइबी हिरासत छन्। सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो।

मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी सा“झबाट विभिन्न सुनपसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए। तस्करी गरेर भित्र्याउँदा एक किलो सुनमा आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए। सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिँदै राय लिने काम भइरहेको बताए।

साढे ३३ किलो सुन तस्करीमा फरार रहेका व्यक्तिहरूले विदेशबाटै प्रहरीलाई धम्क्याएका छन्। अनुसन्धान नगर्न भन्दै उनीहरूले फोन गरेर सिआइबीका प्रहरीलाई धम्क्याएका हुन्।

इन्टरनेट कलमार्फत फोन गर्दै उनीहरूले सिआइबीका डिएसपी प्रवीण पोखरेल, वीरेन्द्र जोहारीलगायतलाई धम्क्याएका हुन्। सिआइबीले धम्कीको अडियोसमेत अनुसन्धान प्रतिवेदनमा राखेर बुझाएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्