‘लगानी गर्नुहोस, सुरक्षा दिन तयार छौं’- प्रधानमन्त्री
काठमाडौं, फागुन १९
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान जारी भएपछि नेपाल आर्थिक विकासमा केन्द्रीत भएकाले लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री दाहालले लगानी सुरक्षाका लागि सरकार पूर्णप्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे ।
उनले संविधान जारीपछि मुलुक आर्थिक विकासमा केन्द्रित भएको, लगानीको वातावरण तयार हुँदै गएको र राजनीतिक दल पनि आर्थिक मुद्धामा एकजुट भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । लगानी लिएर आउनेको जिम्मा सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरे । सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन दलहरु पूर्ण प्रतिबद्ध रहेको बताए ।
उनीहरुले लगानीको वातावरण तयार पार्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वानले नेपालको विकासका लागि नेपाल सरकार एवं निजी क्षेत्रसँग काम गर्ने इच्छा व्यक्त गरे । उनले पूर्वाधार लगानी बैंकले जनताले चाहेको परियोजनामा मात्रै लगानी गर्ने भन्दै नेपालको जलविद्युत् एवं प्राकृतिक स्रोतमा काम गर्न इच्छुक रहेको बताए ।
सम्मेलनमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी आकर्षित गर्न नेपालले अवलम्बन गर्दै आएको नीतिगत व्यवस्थाबारे जानकारी गरे । शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ मुलुकका २ सय ५० विदेशी तथा झन्डै ३ सय स्वदेशी लगानीकर्ता सहभागी छन् । सम्मेलनमा विभिन्न क्षेत्रमा करिव एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने सरकारले आशा गरेको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार