संशोधन विधेयक पारित हुन कठिन छ – प्रधानमन्त्री


 


काठमाडौं, फागुन १९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक यथास्थितिमा पारित हुन नसक्ने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले विधेयक पारित हुने अवस्था अहिले नरहेको बताएका हुन्।

उनले भने, ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरेँ। राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावका पक्षमा मतदान गर्न सक्दैनौँ भनेर प्रस्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको कुरा छ।

यस्तो कुरा जान्दाजान्दै मतदानमा गए विधेयक पारित नहुने उनको भनाइ छ। विधेयक फेल हुँदा झन समस्या बल्झिने भन्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि थोरै समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने बताए।

उनले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन सक्नेतर्फ मधेसी मोर्चाको ध्यानाकर्षणसमेत गराए। अहिलेको संविधान मान्दैनौँ भन्दा मुलुक उल्टो दिशातिर जानसक्ने खतरा छ, प्रधानमन्त्रीले भने, संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बुँदे असहमति दर्ज गरेको छ।

तर, अहिलेको संविधान पनि मान्दैनौँ भनेर हामी नै यो संविधानविरुद्ध लाग्दा त्यसको परिणाम के होला रु तपाईँहरु सोच्नुहोस्, भुइँको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन। अहिलेको संविधान खारेज भए ०४७ को संविधान ब्युँतिनसक्ने उनको चिन्ता छ। साथै उनले सरकार आदिवासी जनजातिको अधिकारका पक्षमा रहेको पनि बताए। आदिवासी जनजाति प्रतिष्ठान खारेज हुँदैन, त्यसमा तपाइँहरु ढुक्क हुनुस्, उनले भने, स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको छ। अरु कुरा अब टुङ्गिन्छ।

भेटमा आदिवासी जनजातिका प्रतिनिधिहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिवासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्