राजधानीमा‘नेपाल लगानी सम्मेलन’ हुँदै


 


काठमाण्डौ, फागुन १९

राजधानीमा आज देखि दुइ दिने ‘नेपाल लगानी सम्मेलन’ हुँदै छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ राजधानीमा नेपाल लगानी सम्मेलनको आयोजना गरिएको आयोजक उद्योग मन्त्रालयले जनाएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयासका बारेमा समेत छलफल हुने बताइएको छ । सम्मेलनमा लगानीकर्ताका लागि विशेष सूचना कक्ष, लगानी कर्ताबीच आपसी बैठक, सरकार र लगानीकर्ताबीच बैठकको समेत व्यवस्था गरिएको छ ।

सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्रा्ष्ट्रिय सङ्घसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्