भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी


 


काठमाडौं, फागुन १८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ । देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले बस्तीनै जोखिमपूर्ण बनेपछि प्राधिकरणले ती ठाउँबाट अन्यत्र बस्ती सार्न प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको हो ।

दुई-चार घर भएका ठाउँका बस्तीले आफूलाई पायक पर्ने स्थानमा बस्न सक्ने भन्दै प्राधिकरणले त्यसका लागि कम्तिमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म घडेरी बापत रकम दिने तयारी भईरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेलले जानकारी दिए । देशभर विभिन्न ठाउँमा गरी करिब १ हजार घर भएका जमिन भूकम्पले बस्नै नमिल्ने गरी भत्किएको छ ।

सामूहिक बस्ती रहेका ठाउँको हकमा भने सरकारले निश्चित कार्यविधि बनाउने पोखरेलको भनाई छ । यस्तै प्राधिकरणले पहिलो किस्ताको रकम पाएर सरकारी मापदण्डअनुसार घर निर्माण गरेका भूकम्प प्रभावितलाई छिट्टै दोस्रो किस्ताको रकम उपलब्ध गराउने जनाएको छ ।

पहिलो किस्ताको रकमबाट घर बनाउन सुरु गरेकाको घर इन्जिनियरले अध्ययन गरी दोस्रो किस्ता पाउन योग्य ठहर भएलगत्तै उनीहरुलाई दोस्रो किस्ताबापतको रकम दिने प्राधिकरण प्रमुख पोखरेलले बताए । प्राधिकरणले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी भूकम्प प्रभावितसँग अनुदान सम्झौता भइसकेको जनाएको छ ।

किस्तामा दिने रकम वितरण गरेपछि उनीहरुलाई सहुलियत ऋण दिन पनि सरकारले आवश्यक तयारी अघि बढाएको प्राधिकरणको भनाई छ । तर, सम्झौता भए पनि कानुनी जटिलताका कारण घर बनाउन नमिल्ने तथा सम्झौता नभएकाको समस्या पनि छिट्टै टुंग्याउने प्राधिकरणको भनाई छ ।

सुकुम्बासीका नाममा गुठीको जग्गा, सार्वजनिक जग्गा हडपेर घर बनाएका, नक्सापास नगरेका, बनजंगल अतिक्रमण गरेर बसेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता हुन सकेको छैन । किस्ता रकम वितरण गरेपछि भूकम्प प्रभावितलाई सहुलियतपूर्ण ऋण दिन आवश्यक तयारी अघि बढाइएको प्राधिकरणको भनाई छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्