तिलोत्तमा गोल्डकपमा संकटा र हिमालयन शेर्पा खेल्दै


 


काठमाण्डौ, फागुन १८

बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच  प्रतिस्पर्धा हुँदैछ । यसअघि भएको खेलमा नेपाल पुलिसलाई स्तब्ध बनाउँदै नेपाल आर्मी बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा आर्मीले शनिबार १९ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसलाई ३–१ को अन्तरले हरायो। आर्मीको जितमा विवेक बस्नेत, राजीव गुरुङ र दीप लामाले १–१ गोलको योगदान गरे।

उपाधिको बलियो दाबेदार मानिएको पुलिस निराशाजनक नतिजा निकाल्दै प्रतियोगिताबाट बाहिरियो। पहिलो हाफमा २ गोल गरेको आर्मीले पुलिसलाई दबाबमा राख्दै गोल गर्ने प्रयास असफल पारिदियो। निरन्तर गोलपोष्टमा प्रहार गरेको पुलिसले प्रतिष्ठा जोगाउन १ गोलमात्रै गर्न सक्यो।

पुलिसका लागि निरकुमार राईले १ गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेन। सिक्किम युनाइटेड भारतलाई ८–० ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको आर्मीले फाइनल प्रवेशका लागि आयोजक रुपन्देही ११ सँग बिहीबार भिड्नेछ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्