स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध


 


काठमाडौँ, फागुन १७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट आज देशबासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिने र स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सबै प्रकारको सुरक्षाको प्रबन्ध गरिने बताउनुभयो ।

विगत २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन गराउन सरकारले कुनै पनि प्रकारको कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्रीले तराई मधेसको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

संविधान संशोधन प्रक्रियालाई प्रमुख प्राथमिकतामा राखेको भए पनि एउटा राजनीतिक दलको हठका कारण त्यसलाई अगाडि बढाउन असहज भएको भए पनि सरकार सबै प्रकारको गतिरोधको अन्त्य गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले मधेसवादी दललाई समेत आवेग र उत्तेजनामा नआई संविधान कार्यान्वयनको प्रक्रियामा जुट्न र स्थानीय तहको निर्वाचन सम्पन्न गराउने महाअभियानमा लाग्न आग्रह गर्नुभयो । संविधान संशोधन विधेयक अगाडि बढाउदा ‘निम्नस्तरको गाली’समेत सहनु परेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचनलाई एकैसाथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान संशोधनप्रति आफू र आफ्नो नेतृत्वको सरकार अहिले पनि प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनले मधेसलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको र त्यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्