प्रधानमन्त्रीले बोलाए त्रिपक्षीय बैठक


 


काठमाण्डौ, फागुन १७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव पारित गर्ने विषयमा त्रिपक्षीय छलफल आह्वान गरेका छन्। संविधान संशोधन विधेयक र त्यसमा परेका संशोधन प्रस्तावका विषयमा छलफल गर्न प्रधानमन्त्रीले नेपाली काँग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक डाकेको निजी सचिवालयले जनाएको छ। बैठक बिहान साढे १० बजे बालुवाटारमा बस्नेछ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले त्रिपक्षीय छलफलपछि सत्तारुढ दल र सरकारलाई समर्थन गरेका दलबीच छलफल हुने जानकारी दिए। बैठकमा मोर्चाले विधेयकमा आफूहरूले राखेको संशोधनबाट निकास खोज्न सकिने कुरा राख्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए।

संविधान संशोधनबिना मोर्चा चुनावमा जान नसक्ने र अबका केहीदिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको जानकारी उनले दिए। यसअघि सोमबार बेलुकी प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका थिए।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्