काेरिया जाने तयारीमा रहेका नेपालीलार्इ खुसिकाे खबर, कोरियाले माग्यो १० हजार बढी नेपाली कामदार


 


काठमाडाैं, फागुन १६

दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको जानकारी गराएको छ ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा उर्त्तीण हुने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।

‘सन् २०१८ मा यो वर्षभन्दा झण्डै ७ हजार बढी कामदार कोरिया जान पाउनेछन्’ खतिवडाले भने,’हाम्रो निरन्तरको आग्रहलाई स्वीर्कादै कोरियाले १० हजार बढी कामदर लैजान सहमति जनाएको छ । ‘

यो वर्ष ३५ सय कामदार मात्रै इपीएसमा पास भएका थिए । यो वर्षका लागि इपीएसले ३१ सय कामदारको काेटा छुट्याएको थियो । कामदारको कोटा बढेकाले यो वर्ष कोरियन भाषा पढ्ने धेरैलाई उर्त्तीण हुन अघिल्ला वर्षहरुको तुलनामा सजिलो हुनेछ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला हुनेछ । र, यो पटक अनलाइन फारम हुनेछ ।

चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न लागिएको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।

गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देशक खतिवडाले जनाए ।

 

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्