सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ: प्रधानमन्त्री
![](https://www.deshkonews.com/wp-content/uploads/2025/01/OLi-Baa.jpg)
काठमाडौँ १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ ।
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गर्नुभयो ।
उहाँले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताउनुभयो । उहाँले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको जनाउनुभयो ।
“हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी सहिदले देखाएको मार्गमा सधैँ अविचलित रहनेछौँ ।”
कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख, उप्रधानमन्त्रीहरु, मन्त्रीगण,प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेटमा पुगेर सहिदप्रति सम्मान प्रकट गर्नुभएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले यस दिवसलाई राष्ट्रियस्तरमा मनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार