हमलापछि छोराका सुरक्षाबारे ‘सिरियस’ छन् सैफ दम्पती


 


नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान र करीना कपूर खान परिवारको सुरक्षालाई लिएर निकै ‘सिरियस’ भएका छन् । दुवैले पापाराजीलाई आफ्ना छोरा तैमुर र जेहको तस्बिर नखिच्न अनुरोध गरेका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, सैफ र करिनाका पीआर म्यानेजरले मंगलबार साँझ मुम्बईको खारस्थित आफ्नो कार्यालयमा पापाराजीसँग भेटघाट गरेका थिए ।

यसक्रममा उनले फोटोग्राफरहरूलाई घर बाहिर बस्न पनि निषेध गरेका छन् । घरबाट निस्कँदा वा फर्कँदा अभिनेता वा उनको परिवारको तस्बिर नखिच्न पनि अनुरोध गरिएको छ । करिना र सैफ कुनै कार्यक्रममा उपस्थित भएका छन् भने उनीहरूको तस्बिर खिच्न सकिने बताइएको छ ।

जनवरी १५ को राति बान्द्रास्थित सैफ अली खानको घरमा एक पुरुष छिरेका थिए । चोर्ने उद्देश्यले छिरेका ती व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेका थिए । यस घटनामा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो । अभिनेतालाई राति नै अस्पताल लगिएको थियो । यो घटनापछि सैफ दम्पतीले बान्द्रामा रहेको सतगुरु शरण अपार्टमेन्ट छाडेका छन् ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्