प्रयागराज महाकुम्भमा भागदौड, १४ जनाको मृत्यु
![](https://www.deshkonews.com/wp-content/uploads/2025/01/prayagraj-25-1-13t.jpg)
काठमाडौँ, माघ १६ । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिएको छ ।
गएराति २ बजेको समयमा एक्कासी भागदौड मच्चिएको हो । जसका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको बताइएको छ ।
यद्यपि अहिलेसम्म स्थानीय प्रशासनले यसबारे विवरण सार्वजनिक गरेको छैन । भागदौडपछि प्रशासनको अनुरोधअनुसार सबै १३ अखाडामा आज मौनी अमावश्याको अमृत स्नान रद्द गरिएको छ ।
मिडिया रिपोर्टअनुसार अफबाह फैलाउँदै भागदौड मच्चिएको थियो । केही महिलाहरु जमीनमा लडेकामा अरुले उनीहरुलाई कुल्चदै अगाडि बढेका थिए ।
घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा आएका भक्तालुसँग विनम्र अनुरोध गर्दै गंगाको जुन घाट नजिक रहेका छन् त्यहीँ स्नान गर्न भनेका छन् ।
उनले कुनै पनि अफबाहको पछि नलाग्नसमेत आग्रह गरेका छन् । यसअघि मंगलबार योगी आदित्यनाथले सबै श्रद्धालुलाई मौनी अमावश्यामा शामेल हुन आग्रह गरेका थिए ।
मौनी अमावश्याको स्नान भएका कारण करिब पाँच करोड श्रद्धालु सहरमा रहेको अनुमान छ ।
प्रशासनका अनुसार संगमसमेत ४४ घाटमा राति अबेरसम्म ८ देखि १० करोडले डुबकी लगाउने अनुमान गरिएको थियो । तर अप्रिय घटना भएसँगै श्रद्धालुलाई अमृत स्नान गर्न रोक लगाइएको छ ।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार