ट्रम्पले ह्वाईट हाउसका संवाददाताको डिनर वहिष्कार गर्ने


 


एजेन्सी, फागुन १५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चार माध्यमबीचको सम्बन्ध झनझन चिसिंदै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २९ तारिखका दिन हुने ह्वाईट हाउसका संवाददाताहरुको समूहको डिनर बष्हिकार गर्ने घोषणा गरेपछि सम्बन्ध झनै चिसिएको हो ।

आफूविरुद्धका आलोचनात्मक समाचारलाई गलत तथा अतिरञ्जित बताउँदै आएका ट्रम्पले लगातार एक पछि अर्को कार्यक्रममा सञ्चार माध्यमको तिखो आलोचना गर्दै आएका छन् ।

मीडियालाई अमेरीकी जनता र प्रजातन्त्रको शत्रुको दर्जा दिनुभएका ट्रम्पले पछिल्लो पटक ह्वाईट हाउस संवाददाताहरुको डिनर बहिष्कार गर्ने घोषणा गरेपछि सम्बन्ध झनै खराब भएको हो ।

यसअघि ह्वाईट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पका आलोचक सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको थियो ।

सिएनएन, बिबिसी, न्यूयोर्क टाईम्स, गार्जीयन, डेली मेल लगायतका विश्वका ठूला र प्रतिष्ठित सञ्चार माध्यमका प्रतिनिधिलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प थप आलोचित बनेका छन् । उता डेमोक्रेटिक पार्टीका नविनिर्वाचित अध्यक्ष थोमस पेरेजले राष्ट्रपति ट्रम्पको कटू आलोचना गरेका छन् ।

पार्टीको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएलगत्तै पेरेजले ट्रम्पलाई अहिलेसम्मकै खराब अमेरीकी राष्ट्रपतिको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्