कञ्चनपुरबाट पेस्तोलसहित चारजना भारतीय नागरिक समातिए
![](https://www.deshkonews.com/wp-content/uploads/2025/01/2-20.jpg)
कञ्चनपुर । कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधवार राति ९ः४५ बजे चारै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।
भारतीय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सूचनापछि प्रहरीले उनीहरुमाथि चेकजाँच गरेको थियो ।
भीमदत्त नगरपालिका-६ ऐठपुरबाट पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट पश्चिम गड्डाचौकी तर्फ गइरहेको युके ०६ एआर ०८४६ नम्बरको कारलाई चेकजाँच गरिएको थियो । उक्त कार भारतको उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने ३४ वर्षीय जिवन सिँह जिमेवालले चलाएका थिए ।
सो कारलाई चेकजाँच गर्दा चालक सिट पछाडीको खल्तीमा लुकाई छिपाई राखेको जेजिएस कल ९ एमएम पिएके जोराकी मोड ९१४, ०६१५–००७६१९ लेखिएको म्याग्जिन, कभर सहितको पेस्तोल फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार