एमाले विरुद्ध मोर्चाबन्दी सुरु भयो-ओली


 


काठमाडौं, फागुन १५

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई केन्द्रित गरेर आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी सुरु भएको आरोप लगाएका छन्। पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले एमालेकै बलका कारण निर्वाचनको घोषणा भएको भन्दै आफ्नो पार्टीले सबै निर्वाचनमा विजय हासिल गर्ने बताए।

अध्यक्ष ओलीले एमालेलाई हात्तीको संज्ञा दिँदै स्यालहरुको मोर्चाबन्दीले केही फरक नपर्ने बताए। उनले भने, ‘एमाले हात्ती हो। स्यालहरुले शिकार गर्नै सक्दैनन्। मोर्चाबन्दी भए पनि एमाले नै निर्वाचनमा विजयी हुन्छ।’

उनले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको आरोप समेत लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू नेतृत्वको सरकारले जनतामा विकास सम्भव छ भन्ने आशा जगाएको भन्दै लोडसेडिङको अन्त्य आफनै पार्टी नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको पनि उल्लेख गरे । अहिलेको सरकारले त्यसको जस मात्रै लिन पाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्