कैलालीका ५० हजार किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइँदै


 


धनगढी, माघ २ । कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने भएको हो ।

जिल्लामा रहेका ७५५ वटै विद्यालयमा पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने छ । खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए ।

उनका अनुसार विद्यालयमै खोप केन्द्र राखेर भ्याक्सिन लगाइनेछ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने उनले बताए ।

१५ वर्षअघि नै खोप लगाए पाठेघरको क्यान्सर हुँदैन महिलामा स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको तथ्यांक छ ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्