गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभाशं बाढ्ने
काठमाडौँ २९ पुस । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई ५ प्रतिशत (करसहित)को नगद लाभांस दिने निर्णय गरेको छ ।
शुक्रबार पोखरामा सम्पन्न साधारण सभाले ५ प्रतिशत नगद लाभांस बाढ्नेलगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको हो । विकास बैंकले आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरुलाई ५ प्रतिशत (करसहित)को नगद लाभांस वितरण गर्ने पारित गरेको हो ।
त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १ सय २३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार