माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गर्नुभएको हो ।
चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उहाँले छलफल गर्नुभएको थियो । उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले सो संस्थाको प्रशंसा गर्नुभयो ।
नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगायतको अवलोकन गर्नुभयो ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार