एनसीसी क्याम्पसमा आगलागी


 


काठमाडौं, फागुन १३

बानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस एनसीसी मा गएराति आगलागी हुँदा कागजपत्र जलेर नष्ट भएका छन्। क्याम्पसको लेखा शाखामा आगो लागेको हो। आगलागीको यकिन कारण खुल्न सकेको छैन। प्रहरीले बिहान घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। क्याम्पस प्रमुख डा. जीवन भट्टराईले आगलागी भएको पुष्टि गरे।

आगलागीबाट लेखा शाखाको भवन जलेको जानकारी दिँदै उनले आगो लाग्नुको यकिन कारण छानविनपछि थाहा हुने बताए। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन केही दिनमात्र बाँकी रहेको अवस्थामा भएको आगलागीलाई लिएर विद्यार्थी संगठनहरु भने आरोप प्रत्यारोपमा उत्रिएका छन्।

माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले यसको दोष एमाले निकट अनेरास्ववियुलाई लगाएको छ। क्याम्पसमा बिहीबार अखिल क्रान्तिकारीको चुनावी कार्यक्रम थियो। त्यसमा विद्यार्थीको सहभागिता र क्रान्तिकारीप्रतिको लहरका कारण डराएर आगो लगाइएको उसको आरोप छ।

प्रकाशित मिति: १३ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्