आज एकैदिन पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, पुस २९ । आज (सोमबार) एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ ।
यसैगरी, सोही समयमै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आव २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।
यस्तै, न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान साढे १० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ ।
आजै साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।
यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदैछ ।
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार