‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’
काठमाडौँ, २८ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।
काउन्सिलले आज यहाँ आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उहाँले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष बस्नेतले पत्रकारिता समाज सुधारको आधार र पथप्रदर्शक भएकाले सोहीअनुसार सकारात्मक उद्देश्यका साथ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । “केही सञ्चार माध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ ।
त्यसैले सबै सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्छ । पत्रकारहरु कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो होइन । पत्रकारले अरुलाई दुःख दिन हुँदैन”, उहाँले भन्नुभयो ।
विषयविज्ञका रूपमा पत्रकार विमल गौतम र काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति: २८ पुस २०८१, आइतबार